Sunday, 4 November 2012

प्रवासीले पत्रकारलाई पुरस्कार दिने

गोपाल कंडेल
बागलुङ/जिल्लाबाट प्रवासमा गएर पनि विभिन्न सामाजिक क्रियाकलापमा क्रियाशिल रहेका युवाहरुको संगठन बागलुङ सेवा समाज यूएईले बागलुङ जिल्लालाई कार्यथलो बनाएर पत्रकारिता गर्ने २ जना पत्रकारलाई पुरस्कृत गर्ने भएका छन् ।
समाजको निर्णय अनुसार बागलुङमा क्रियाशिल १ जना महिला र एक जना पुरुष पत्रकारलाई जनही नगद ५ हजार रुपैयासहित पुरस्कृत गरिने समाजका महासचिव केदारसि“ह नेपालीले जानकारी दिनुभयो । पुरस्कारका लागि पत्रकारहरुको छनौट गर्नका लागि नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष रामबहादुर जिसीको संयोजकत्वमा ७ सदस्यीय छनौट समिति गठन गरिएको छ ।
समितिमा बागलुङ सेवा समाज यूएईका महासचिव केदारसिंह नेपाली, नेपाल प्रेस यूनियन बागलुङका सल्लाहकार जगन्नाथ आचार्य, प्रेस चौतारीका केन्द्रीय सदस्य रामकृष्ण शर्मा, क्रान्तिकारी पत्रकार संघ बागलुङका सल्लाहकार कृष्ण केसी, क्रान्तिकारी पत्रकार महासंघ बागलुङका अध्यक्ष महेन्द्र घर्ती र प्रगतिशिल पत्रकार संघका विजय राना रहनु भएको छ ।
समितिले पत्रकारहरुको छनौट गरेपछि कार्तिक महिनामै उक्त पुरस्कार प्रदान गरिने महासचिव नेपालीले जानकारी दिनुभएको छ । बागलुङ सेवा समाज यूएईले गतवर्ष रेश गाविसमा पहिरोमा परी पीडित भएकाहरुका लागि आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले सञ्चालन गरेको पहिरो पीडित राहत कोष मार्फत पीडितहरुलाई ३० हजार रुपैया“ आर्थिक सहयोग गरेको थियो ।

Thursday, 11 October 2012

एकान्त यो प्रहरमा घर सम्झी रुन्छु सधैं


एकान्त यो प्रहरमा घर सम्झी रुन्छु सधैं
रात भरी रुदै आसुले सिरानी धुन्छु सधैं

प्रबासी यो जिन्दगीमा ठक्कर हन्डर खादा
अतासिन्छु रुदै अन्जुलिले मुख थुन्छु सधैं

कस्ले बुज्नु मेरो बेथा धेरै दु:ख पाएकीछु
खानु छैन पेट भरी भोको पेटमै सुत्छु सधैं

सम्झिदा आफन्तलाई छिया छिया हुन्छ मन
सन्तानको झल्को आउँदा पागल झै हुन्छु सधैं

उन्कै नाम लिदै म बर्बराउछु निदरिमा
सपनीमा आमा भनी बोलाएको सुन्छु सधैं

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

प्रवासी नेपाली संघ यूएइको आयोजनामा बडा दशैं २०६९ को उपलक्ष्यमा पिकनिक कार्यक्रम गर्ने तयारी


उत्तम अधिकारी, यूएइ - बडा दशैं २०६९ को आगमन संगै मानिसहरूको चहल पहलले यतिबेला नेपाली बजार रंगिएको छ र नेपाल भरी बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू धमाधम आयोजना भई रहेका छन् । यतिबेला स्वदेशमा मात्रै हैन प्रवासमा रहेका नेपाली समुदायहरू पनि उत्तिकै तातेका छन् । युएइ प्रवासमा गत केही समय देखि हप्तै पिच्छे बिबिध सांस्कृतिक कार्यक्रमहरूको आयोजना निरन्तर भईरहेका छन् । यहाँ धेरै नेपाली संघ संस्थाहरू भएका कारण प्राय कार्यक्रमहरू जुध्ने पनि गरेका छन् । त्यसो त युएइ प्रवासमा नेपाली श्रमिकहरूको उपस्थिती पनि ठुलै संख्यामा रहेको कारणले कार्यक्रमहरू जुध्दा समेत तिनमा दर्शकको उपस्थिती बाक्लै हुने गरेको छ ।  
यसै शिलशिलामा बिजया दशमीको नजिकै पारेर बिगत लामो समय देखि युएइ प्रवासमा कार्यरत प्रवासी नेपाली संघ युएइले "बडा दशैं २०६९ को भेटघाट तथा शुभकामना आदान प्रदान सहितको पिकनिक"  कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी १९ अक्टोबर २०१२ का दिन दुबइको जाबिल पार्कमा आयोजना हुने उक्त कार्यक्रमका संयोजक संघका केन्द्रीय सदस्य तथा प्रवासी नेपाली युवा संघ युएइका अध्यक्ष महेश गिरीले दशै समस्त नेपालीहरुमा निकटता र भाइचारा बढाउने तथा एक आपसका तिक्तता र कटुताहरू मेट्दै सामिप्यता बढाउने र दु:ख पीडाहरू भूलेर एक आपसमा मिलेर खुसियालिपुर्बक साथ साथ मनाउने राष्ट्रिय पर्वको रुपमा रहेकाले प्रवासी नेपाली संघले युएइ प्रवासमा रहनु भएका सम्पुर्ण संगठन, संघ संस्थामा आबद्ध नेपाली समुदाय तथा आम नेपाली दाजुभाइ, दिदिबहिनिहरूलाई कार्यक्रममा सहभागी हुनको लागि अनुरोध गर्नु भएको छ । 
उक्त भेटघाट तथा शुभकामना आदान प्रदान सहितको पिकनिक कार्यक्रमका व्यवस्थापन प्रमुख संघकै केन्द्रीय सदस्य प्रकाश कोइरालाका अनुसार कार्यक्रमलाई रोचक र मनोरन्जनात्मक बनाउनका लागि शुभकामना आदान प्रदानका साथ साथै नाचगान र दुई चरणको खानाको व्यवस्था गरिएको छ । "दशै भन्ने बित्तिकै अधिकांस नेपालीहरूको घर घरमा खसी काटेर रमाइलो गरि मनाइने पर्ब भएकाले हमिले पनि यस कार्यक्रममा ४ वटा खसी काटेर परिवारको साथमा नेपालमै भएको झल्को आउने गरि कार्यक्रमको तयारी गरेका छौं", उहाँले भन्नु भयो । उहाँका अनुसार कार्यक्रममा सरिक हुनेहरुका लागि बिशेष पासको व्यवस्था गरिएको र कार्यक्रमको अघिल्लो दिन सम्म पास लिईसकेकाहरूलाई मात्रै कार्यक्रममा समाबेश गराइने तथा अबुधाबीबाट कार्यक्रममा सरिक हुनेहरुका लागि आयोजकको तर्फबाट यातायातको व्यवस्था समेत मिलाइएको छ । 
कार्यक्रमको पास प्राप्त गर्न तथा अन्य बिबिध जानकारीको लागि निम्न व्यक्तिहरू सँग सम्पर्क गर्नको लागि संघले सबैमा अनुरोध गरेको छ ।
सम्पर्क
महेश गिरी (आबुधाबी) 055-1835640, उत्तम अधिकारी (अबुधाबी) 050-5365629, गितामणी पाण्डे (दुबइ) 055-7561292, युबराज भुसाल (दुबइ) 050-7295790, भिम गुरुङ (जेबेल अली -दुबइ) 055-9911417, प्रकाश कोइराला (शारजाह) 050-6581443, श्याम कंडेल (शारजाह) 055-1325432, लीला प्रसाद उप्रेती (बिदा जायेद) 055-4491705, श्याम पाठक (अल ऐन) 050-9085503, लक्ष्मण अधिकारी (अल ऐन)  055-3178201, नबराज पौडेल (रास अल खैमाह)  050-7380834

कार्यक्रम 
मिती : १९ अक्टोबर २०१२ शुक्रबार
समय : दिनको १ बजे
स्थान : जाबिल पार्क (दुबइ)

Friday, 28 September 2012

सुर्य र चन्द्र अंकित झन्डा हाम्रो झुक्ने छैन

सुर्य र चन्द्र अंकित झन्डा हाम्रो झुक्ने छैन
जलको धनी नेपाल यो कहिल्यै सुक्ने छैन

सान्तिको देस पौरखी हात गर्दैनौ गुलामी
निसानी छोडि दुनियाँ माझमा चुक्ने छैन

चिनारी हाम्रो विश्वभरमा गोर्खाली नामको
कुनै देस सामुन्ने शरण पर्न पुग्ने छैन

अस्तित्व राख्दै देसको हाम्रो अगाडि बढेर
लक्ष्यमा पुग्दै शिखर चुम्छौ रुक्ने छैन

सद्ज्ञानको अर्थी बाढौ बुद्धको यो देसमा
सान्ती छाए नेपालमा कसैले थुक्ने छैन

कल्पना पौडेल 'जिज्ञासु'
–गैंडाकोट–४ नवलपरासी, (हाल इजरायल)

Wednesday, 12 September 2012

सम्झना लामिछाने मगरले अबुधावीमा तीजलाई तताईन



लालबहादुर ढेंगा, दुबई, युएई, अबुधावी । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजलाई युएईका महिलाहरुले गत ७ सेप्टेम्बर शुक्रबारका दिन अबुधावीको इण्डियन सोसियल सेन्टरमा आफ्नो परम्परा र रितीरिवाज अनुसार धुमधांमका साथ मनाएका छन् । नेपाली जनसम्पर्क समिति युएईको अबुधावी क्षेत्रीय समितिले आयोजना गरेको तीज कार्यक्रममा नेपालका लोक दोहोरी क्षेत्रकी चर्चित गायिका सम्झना लामिछाने मगरको प्रस्तुतिका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । 
वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीहरुले प्रवासको भूमिमा पनि आफ्नो चाड पर्वलाई पूर्खाबाट चलिआएको रितीरिवाजलाई कायम राख्दै रमाइलोसंग मनाउने प्रचलनमा ल्याएको पाईन्छ । गत शुक्रबारका दिन युएईका महिलाहरुले अबुधावीको सहरमा हरितालिका तीजलाई आफ्नो परम्परागत पहिरन रातो साडी र छडके तिलहरीमा सजिएर कम्मर मर्काई–मर्काई नाचेको देख्दा विदेशमा नभईकन आफ्नै स्वदेशमा भएको अनुभूति हुन्थ्यो । सार्वजनिक शुक्रबारे विदाका दिन भएकाले महिलाहरुको ठूलो जमघट हुनुका साथ हरेक महिलाहरुको चेहरामा उत्साह र रौनक देख्न सकिन्थ्यो । माइत गई दर खान नपाए पनि स्टेजमा ढलकी–ढलकी नाचेर माइतीका तिर्सना मेताए । धेरै महिलाहरुमा नाच्नलाई उत्सुकता भएता पनि स्टेज सानो र नाच्नेहरुको घुइचो भएकाले नाच्नलाई मन मार्न समेत बाध्ये भएका थिए । स्टेजमा नाच्नेहरुको संख्या हेर्दा महिलाहरु कार्यक्रममा सहभागिता हुन नभईकन केवल नाच्न मात्र आएको आभास हुन्थ्यो । 

Friday, 7 September 2012

बिदेसको गल्ली गल्ली हिन्दै छु आमा - कल्पना पौडेल 'जिज्ञासु'

बिदेसको गल्ली गल्ली हिन्दै छु आमा
भोको पेटमा झोला बोकी खोज्दै काम

खाडी मुलुक चर्को घाम हातमा पैसा छैन
धेरै दिन भो काम छुटेको खान पा छैन

घरको जाहान क्यारी पाल्ने पोल्छ सधैं छाती
दु:खको पहाड टुट्यो आमा गरीब माथि

नर्कै भयो आज हामी गरीबको जूनी
जहाँ गए नि कर्म सङै सुख नहुनी

साहुको रिण तिर्न सके फर्किन्थे म घरमा
बाड्थौ दु:ख सुख परिवार सङै भएर

–गैंडाकोट–४ नवलपरासी, (हाल इजरायल)

Wednesday, 5 September 2012

तीजपर्व : आवश्यकता रूपान्तरणको – कल्पना पौडेल “जिज्ञासु”

जनसंख्याको आधा भाग ओगटेका महिलाहरू आज विभिन्न समस्यामा जकडिएर बाँच्न बाध्य छन् । गरिबी, अशिक्षा, अज्ञानता, हत्या, हिंसा जस्ता समस्याबाट आज महिलाहरू अत्यन्त प्रताडित छन् । सामन्तवादी समाजले महिलालाई सधै दोस्रो दर्जाको नागरिक , पुरूषका मनोरन्जनको साधन चरणकी दासी र बच्चा जन्माउने मेसिनको रूपमा हेर्दै आएको छ । पढ्ने, लेख्ने, घरबाहिर आफू खुशी हिंड्डुल गर्ने, राजनैतिक, सामाजिक, शैक्षिक, आर्थिक जस्ता नैसर्गिक अधिकारबाट महिलाहरू बञ्चित छन् । हिन्दु धर्म र सामन्ती परम्पराले नेपाली महिलाहरूलाई लामो समयदेखि गहिरो प्रभाव पार्दै आइरहेको छ ।  धर्म र पम्परासँग जोडिएका थुप्रै चाडपर्वहरू हाम्रो समाजमा स्थापित छन् । ती मध्य तीज पर्वलाई नेपाली महिलाहरूले एक महान पर्वका रूपमा मनाउँदै आइरहेका छन् । तीजका अवसर पारेर एक ठाउँमा भेला भएर नेपाली दिदीबहिनीहरूले आफूहरूमाथि भएका सामाजिक, पारिवारिक, अन्याय, अत्याचार, हिंसा र घरपरिवारका समस्याका साथै आफ्ना मनका कथा, व्यथा गीतको रूपमा पोखे प्रचलन छ ।
 समाजले रूढीवादी र अन्धविश्वासलाई धर्मको नाममा  महिलाहरूमाथि जवरजस्ती थोपरी दिएको छ । जसको फलस्वरूप कृष्णाष्टमी, तीज र पंचमीमा महिलाहरू ब्रत बस्ने गर्दछन् र त्यसरी ब्रत बसेमा विवाहित महिलाहरूको श्रीमानको आयु बढ्ने, अविवाहित किशोरीहरूले राम्रो र धनी श्रीमान पाइने जस्ता अन्धविश्वासहरूबाट नेपाली महिला ग्रसित छन् । अर्कोतर्फ तीजलाई माइत जाने , मिठो खाने, राम्रो लुगा र गहना लगाउने चाडको रूपमा पनि हेरिन्छ । जसरी पनि मिठो खाने, राम्रो लुगा, गहना लगाउनुपर्ने प्रचलनले गर्दा समाजमा विकृति पैदा भैरहेको छ । यसो हेर्दा तीज पर्वले एकातिर आफ्नो पीडा पोख्न पाउने, वर्षौंदेखि माइती नगएका महिलाहरू पनि माइत जान पाउने स्वतन्त्रता दिएको जस्तो देखिन्छ भने अर्कोतर्फ युगौं देखि रूढीवादी, अन्धविश्वासले महिलाहरूलाई जकडाइरहेको छ । महिलामाथि हुने दाइजो, छाउपडी, बोक्सी, कुमारी, झुमा, बुर्का, जवरजस्ती विवाह, बहुविवाह जस्ता विभिन्न सामन्ती परम्परावादी पुरूषप्रधान प्रथाहरूले आज २१ औं शताब्दीमा पनि नेपाली महिलाहरूलाई उठ्नै नसक्नेगरी च्यापिरहेका छन् । महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरू  आज पनि घटिरहेका छन् ।