Wednesday, 5 September 2012

तीजपर्व : आवश्यकता रूपान्तरणको – कल्पना पौडेल “जिज्ञासु”

जनसंख्याको आधा भाग ओगटेका महिलाहरू आज विभिन्न समस्यामा जकडिएर बाँच्न बाध्य छन् । गरिबी, अशिक्षा, अज्ञानता, हत्या, हिंसा जस्ता समस्याबाट आज महिलाहरू अत्यन्त प्रताडित छन् । सामन्तवादी समाजले महिलालाई सधै दोस्रो दर्जाको नागरिक , पुरूषका मनोरन्जनको साधन चरणकी दासी र बच्चा जन्माउने मेसिनको रूपमा हेर्दै आएको छ । पढ्ने, लेख्ने, घरबाहिर आफू खुशी हिंड्डुल गर्ने, राजनैतिक, सामाजिक, शैक्षिक, आर्थिक जस्ता नैसर्गिक अधिकारबाट महिलाहरू बञ्चित छन् । हिन्दु धर्म र सामन्ती परम्पराले नेपाली महिलाहरूलाई लामो समयदेखि गहिरो प्रभाव पार्दै आइरहेको छ ।  धर्म र पम्परासँग जोडिएका थुप्रै चाडपर्वहरू हाम्रो समाजमा स्थापित छन् । ती मध्य तीज पर्वलाई नेपाली महिलाहरूले एक महान पर्वका रूपमा मनाउँदै आइरहेका छन् । तीजका अवसर पारेर एक ठाउँमा भेला भएर नेपाली दिदीबहिनीहरूले आफूहरूमाथि भएका सामाजिक, पारिवारिक, अन्याय, अत्याचार, हिंसा र घरपरिवारका समस्याका साथै आफ्ना मनका कथा, व्यथा गीतको रूपमा पोखे प्रचलन छ ।
 समाजले रूढीवादी र अन्धविश्वासलाई धर्मको नाममा  महिलाहरूमाथि जवरजस्ती थोपरी दिएको छ । जसको फलस्वरूप कृष्णाष्टमी, तीज र पंचमीमा महिलाहरू ब्रत बस्ने गर्दछन् र त्यसरी ब्रत बसेमा विवाहित महिलाहरूको श्रीमानको आयु बढ्ने, अविवाहित किशोरीहरूले राम्रो र धनी श्रीमान पाइने जस्ता अन्धविश्वासहरूबाट नेपाली महिला ग्रसित छन् । अर्कोतर्फ तीजलाई माइत जाने , मिठो खाने, राम्रो लुगा र गहना लगाउने चाडको रूपमा पनि हेरिन्छ । जसरी पनि मिठो खाने, राम्रो लुगा, गहना लगाउनुपर्ने प्रचलनले गर्दा समाजमा विकृति पैदा भैरहेको छ । यसो हेर्दा तीज पर्वले एकातिर आफ्नो पीडा पोख्न पाउने, वर्षौंदेखि माइती नगएका महिलाहरू पनि माइत जान पाउने स्वतन्त्रता दिएको जस्तो देखिन्छ भने अर्कोतर्फ युगौं देखि रूढीवादी, अन्धविश्वासले महिलाहरूलाई जकडाइरहेको छ । महिलामाथि हुने दाइजो, छाउपडी, बोक्सी, कुमारी, झुमा, बुर्का, जवरजस्ती विवाह, बहुविवाह जस्ता विभिन्न सामन्ती परम्परावादी पुरूषप्रधान प्रथाहरूले आज २१ औं शताब्दीमा पनि नेपाली महिलाहरूलाई उठ्नै नसक्नेगरी च्यापिरहेका छन् । महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरू  आज पनि घटिरहेका छन् ।
  विभिन्नकाल खन्डमा देशका शासकहरूका विरूद्ध आनदोलनहरू भएका छन् ती सबै आन्दोलनामा नेपाली महिलाहरूको उल्लेख्य भूमिका रहेको हामी पाउँदछौं ।  २००७ साल, २०१७ साल र २०३६ साल यी आन्दोलनहरूले केही न केही कागजी सुधारहरू भए पनि परम्परागत विभेदमा खासै सुधार हुन सकेको थिएन । २०४६ सालको आन्दोलनले तााशाही पंचायती व्यवस्थाको अन्त्य ग¥यो र देशमा बहुदलीय व्यवस्थाको शुरूआत भयो । त्यसले राजनैतिक व्यवस्थाको परिवर्तन गर्ने काम त ग¥यो तर महिलामाथि लागु हुने परम्परावादी सामन्ती समाजको सोचमा परिवर्तन हुन सकेन । महिलाहरूमाथि उही अन्धविश्वास, रूढीवादी परम्परा रहिनै रह्यो । महिलाहरूले आफ्नो मौलिक हक उपभोग गर्न  पाएनन् । देशमा अन्याय, अत्याचार, भ्रष्टाचार, राष्ट्रघात जस्ता समस्याहरू टड्कारो रूपमा देखा पर्न थाले । पैतृक सम्पत्तिमा छोरासरह छोरीलाई समान अधिकार, विवाह र सम्बन्धविच्छेदमा अधिकार, गर्भपतनमा अधिकार, समान कामको समान ज्याला जस्ता थुपै्र महिलाहरूका आवाजलाई महिला संघसंस्थाहरूले उठाउँदै आएका छन् । पछिल्लो समयमा २०६२÷६३ को जनआन्दोलनले महिलाहरूका पक्षमा केही महत्वपूर्ण उपलब्धीहरू दिएको छ । ती उपलब्धीहरूलाई स्थापित गर्ने र त्यसैको जगमा टेकेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । जे जति अधिकारहरू कागजीरूपमा सीमित छन्, ती पनि नेपाली महिलाहरूले उपभोग गर्न पाएका छैनन् । ती अधिकारहरूलाई व्यवहारमा लागु गर्न र परम्परावादी समाजलाई चुनौती दिनको लागि सीमित उपलब्धीहरूको संरक्षण र उपभोग गर्दै अधिकार सुनिश्चितताका लागि संघर्षरत रहँदै अगाडि बढ्नु पर्दछ ।
प्रवासमा पनि हरितालिका (तीज) मनाउने गरिन्छ । आफन्तदेखि सात समुन्द्र टाढा रहँदाको बेथा र पीडा निकै चर्को हुन्छ ।  माइतीको सम्झना गर्दै कर्म थलो भन्दा कोसौं टाढा यो विदेशी भूमिमा जताततै छरिएर रहेका सम्पूर्ण चेलीबेटी दिदीबहिनीहरू तीजका बेलामा एकै ठाउँमा जम्मा हुने गरिन्छ । एक आपसमा धेरै माया सद्भाव स्नेह बाँडेर  काममा रहँदाको यातना दुःख , एक्लोपनको तडप, आफ्नो घर परिवारबाट टाढिएर बस्न पर्दाको पीडा सबै समेटेर आफ्ना मनभित्र गुम्सिएका भावनाहरू गीतको रूपमा व्यक्त गरिन्छ, भने मिठो मिठो परिकारहरू पकाएर दर खाने, नाँच्ने र रमाइलो गर्ने पनि गरिन्छ ।
तिजको दिन महिलाहरूलाई पुरूषको सर्वसत्तावादले “कहा जालास् मछली मेरै धढिया” भने जस्तो बनाएको पाइन्छ । हिन्दु धर्मले महिलालाई थिच्नुसम्म थिचेको छ । तिजको एक दिन महिलाहरूलाई आफू पीडित भएको कुराहरू साथीसंगी दिदीबहिनीसँग गीतको माध्यमद्वारा पोख्न पाउने र नाँचगान गरी वर्षभरीको दुःख बेदना पोख्ने अवसर दिइएको जस्तो देखिन्छ, अझ सम्पूर्ण दिन पितृसत्तामक सामाजिक व्यवस्थाले महिलालाई यसरी बाँधेको छ कि त्यसको यहाँ वयान गरेर साध्यै छैन । यस्तो पितृसत्तात्मक सामाजिक व्यवस्थामा महिलाहरू असमान सम्बन्धको खाडलबाट बाहिर आउनै नसकिने गरी जाकिन बाध्य हुनुपर्दछ । हिन्दु परम्पराअनुसार तीजका दिन विवाहित महिलाहरू श्रीमानको आयु लामो होस् भनेर ४८ घण्टासम्म एकथोपा पानी समेत नपिई आफ्नो ज्यानको कुनै प्रवाह नगरी भगवान शिवको ब्रत आराधना गरी श्रीमानको पाउको जल खान बाध्य हुनुपर्दछ । अविवाहित महिलाहरू पनि राम्रो, सक्षम र शक्तिशाली श्रीमान पाउ भनिकन आफ्नो ज्यानको प्रवाह नगरी, ज्यानै जोखिममा राखी ब्रत आराधना गर्ने गर्दछन् । तर असाध्यै खड्कने अर्थात् चित्त नबुझ्ने कुरा चाहिं के हो भने हाम्रँे धार्मिक ग्रन्थले कुनै पनि पुरूषलाई भने आफ्नी श्रीमतीको लागि कहिल्यै यसरी ब्रत बस्नुपर्ने आवश्यक ठान्दैन । यसरी यो धर्मले महिलालाई एकदिन स्वतन्त्र भएर बोल्न दिए पनि अर्कोतिर पुरूषकै लागि पानी पनि नपिई ज्यान जोखिममा राखी निराहार बसी भगवान शिवको पुजा आराधना गर्न बाध्य बनाइदिएको छ । यो कुरा महिलाहरूले अब बुझ्न ढिला गर्नु हुँदैन ।
महिलाहरू यस्ता रूढीवादी कुराहरूलाई चिर्दै अबका दिनहरूमा बाहिर निस्कन सक्नुपर्दछ । यस निम्ति हाम्रा तमाम महिला दिदीबहिनीहरूमा सामाजिक एवं राजनैतिक चेतना आउनै पर्दछ । जबसम्म महिलाहरूमा राजनैतिक चेतना आउँदन, तबसम्म उनीहरू आआफ्नो हक अधिकार के हो त्यसबारे जानकारी राख्न सक्दैनन् । फलस्वरूप सधै दबिएर, हेपिएर नै बस्नुपर्ने बाध्यता बन्छ । सारा नीतिहरू मध्य राजनीति नै एउटा यस्तो नीति हो जसले समग्र समाज वा पूरै देश, प्रदेशको नियन्त्रण, मार्गनिर्देशन वा विकासका निम्ति मुख्य भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले जबसम्म महिलाहरू राजनीतिक रूपमा सक्रिय भै अगाडि आउँदैनन् तब सम्म महिलाहरूको कदपी विकास हुन सक्दैन । अब सहभागिताको मात्र कुरा होइन, महिलाको समान एवं प्रत्यक्ष प्रतिनिधित्वको कुरा गरिनुपर्दछ । महिलाहरूको यसप्रकारको प्रत्यक्ष प्रतिनििधत्व विना कुनै पनि राज्यमा स्थायी शान्ति र दिगो विकास असम्भव छ । स्वतन्त्रता, समानता, शान्ति र सुरक्षा, मानवीय मूल्य र मान्यता समतामूलक समाजको प्रमुख आधारशिलाहरू हुन् । यिनै आधारशिलाहरूमा समतामूलक समाजको निर्माण गरेर मुलुकलाई अगाडि बढाउन सकिन्छ । नेपालका निम्ति समतामूलक समाज, लोकतान्त्रिक शासन पद्धतिको मूलआधार स्तम्भ पनि भएकाले महिलाहरूको समग्र विकासको लागि धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व अपरिहार्य छ । हामीले तीज पर्वले बोकेको रूढीवादी परम्पराको विरूद्धमा संघर्ष गर्दै सिंगो सामन्ती पुरूषप्रधान, सामाजिक संरचनाको विरूद्धको आन्दोलनको रूपमा यस चाडलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । त्यस रूपमा अगाडि बढ्न हामीलाई एक जुझारू र सशक्त र सही नीति सिद्धान्त बोकेको संगठन चाहिन्छ । त्यसैले अखिल नेपाल महिला संघ  जस्तो हाम्रँे हितमा संघर्षरत रहेको  संगठनमा आबद्ध भई अगाडि बढ्नुपर्दछ हामी ।
यो चाडले सम्पूर्ण महिला आमादिदी बहिनीहरूलाई नयाँ चेतना जागृत गराओस् –तीजको हार्दिक मंगलमय शुभकामना ।
–गैंडाकोट–४ नवलपरासी, (हाल इजरायल)

No comments:

Post a Comment