
लालबहादुर ढेंगा, दुबई, युएई, अबुधावी । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजलाई युएईका महिलाहरुले गत ७ सेप्टेम्बर शुक्रबारका दिन अबुधावीको इण्डियन सोसियल सेन्टरमा आफ्नो परम्परा र रितीरिवाज अनुसार धुमधांमका साथ मनाएका छन् । नेपाली जनसम्पर्क समिति युएईको अबुधावी क्षेत्रीय समितिले आयोजना गरेको तीज कार्यक्रममा नेपालका लोक दोहोरी क्षेत्रकी चर्चित गायिका सम्झना लामिछाने मगरको प्रस्तुतिका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।
वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीहरुले प्रवासको भूमिमा पनि आफ्नो चाड पर्वलाई पूर्खाबाट चलिआएको रितीरिवाजलाई कायम राख्दै रमाइलोसंग मनाउने प्रचलनमा ल्याएको पाईन्छ । गत शुक्रबारका दिन युएईका महिलाहरुले अबुधावीको सहरमा हरितालिका तीजलाई आफ्नो परम्परागत पहिरन रातो साडी र छडके तिलहरीमा सजिएर कम्मर मर्काई–मर्काई नाचेको देख्दा विदेशमा नभईकन आफ्नै स्वदेशमा भएको अनुभूति हुन्थ्यो । सार्वजनिक शुक्रबारे विदाका दिन भएकाले महिलाहरुको ठूलो जमघट हुनुका साथ हरेक महिलाहरुको चेहरामा उत्साह र रौनक देख्न सकिन्थ्यो । माइत गई दर खान नपाए पनि स्टेजमा ढलकी–ढलकी नाचेर माइतीका तिर्सना मेताए । धेरै महिलाहरुमा नाच्नलाई उत्सुकता भएता पनि स्टेज सानो र नाच्नेहरुको घुइचो भएकाले नाच्नलाई मन मार्न समेत बाध्ये भएका थिए । स्टेजमा नाच्नेहरुको संख्या हेर्दा महिलाहरु कार्यक्रममा सहभागिता हुन नभईकन केवल नाच्न मात्र आएको आभास हुन्थ्यो ।